काठमाडौं : निरन्तर घटेपछि बजारमा सेयरको भाउ निकै सस्तो भएको छ । सस्तोमा किन्ने र महँगो हुँदा बेच्ने सामान्य नियम भए पनि आम लगानीकर्तामा भने उल्टो प्रवृत्ति रहने गर्छ । बढ्दा अझै बढ्छ भन्ने लोभले थप किन्ने र घट्दा थप तल झर्न सक्छ भन्ने त्रासका कारण बेच्ने प्रवृत्ति हावी हुन्छ । तर अनुभवी लगानीकर्ता र बजारका अध्येयताहरु घटेको बजार नयाँ प्रवेश गर्न तथा थप लगानी चाहनेहरुका लागि अवसर पनि हो । सस्तो भएका बेला किन्न सके बढ्दा बिक्री गर्न पाइन्छ ।
अहिलेको बजार भाउसँग सूचीकृत कम्पनीहरुको कमाई तुलना गर्दा निकै सस्तो देखिन्छ । यसआधारमा पनि यतिबेला सेयर खरिद गर्दा जोखिम न्यून छ । तर लगानीकर्ताले अलि लामो समयको योजना बनाएर मात्र कारोबार गर्नुपर्छ । कर्जा तथा ब्याज तिर्न सक्ने क्षमतामा विचार गर्नुपर्छ । कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट पनि सार्वजनिक भइसकेको छ । समग्रमा नाफा आकर्षक देखिएको छ ।
वित्तीय विवरणपछि लाभांश घोषणा गर्ने क्रम पनि सुरु भएको छ । यसर्थ, यतिबेला लगानी गरेकाले केही समयपछि लाभांश पाउन सक्ने भएकाले पनि तुलनात्मक रुपमा लागत कम पर्ने अवस्था छ । निरन्तर घटेको बजार अब छिट्टै बाउन्स ब्याक हुने अनुमानहरु गरिएकाले यसबाट पुँजीगत लाभको सम्भावना पनि उत्तिकै छ ।







