८ भदौ, बुटवल । प्रदेश ५ मा चार हजार बढी सहकारी सञ्चालनमा छन् । यीमध्ये कैयौ सहकारी अस्तित्व बचाउन धौ–धौ भएर धमाधम मर्जर जाने प्रक्रियामा छन् । यी सहकारीहरूको भीडमा रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रगति भने सबैका लागि लोभलाग्दो र अनुकरणीय छ ।
बागलुङ जिल्लाबाट बसाइँ सरेर साविकको टिकुलीगढ गाविस ८ सुपौली रुपन्देहीमा आएका पाँचजना युवाहरुको अगुवाइमा ०५९ मा बागलुङ सामुदायिक संस्थाका नामबाट शुरु भएको सहकारीमा अहिले प्रदेश ५ का सहकारीमध्ये सबैभन्दा धेरै शेयर सदस्य आबद्ध छन् । ३१ जनाले एक–एक सय रुपैयाँ जम्मा गरेर एउटा टिनको बाकस, एउटा क्यालकुलेटर र चारवटा खाताबाट सुरु गरिएको सहकारीमा अहिले १५ हजार ५ सय ८६ जना शेयर सदस्य पुगेका छन् । जसमा करिब दुई तिहाइ अर्थात् १० हजार एक सय ९२ जना महिला शेयर सदस्यको बाहुल्यता छ ।







