नेपाल स्टक एक्सचेन्ज नेप्सेको शेयर खरिदको लागि ३ वटा आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर लिलाममा राखेको ३ वटा कम्पनीले आवेदन दिएका हुन् ।
राष्ट्र बैंकका अनुसार नेप्सेको शेयर खरिदको लागि लक्ष्मी बैंक, प्रभु बैंक र कर्मचारी संचय कोषले आवेदन दिएका हुन्। बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन पाउने गरि राष्ट्र बैंकले असार ३१ गतेदेखि यी शेयर लिलाममा राखेको थियो । राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको थियो ।
शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने प्रावधान थियो ।