४ भदौ, काठमाडौं । देशका २८ वाणिज्य बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यसअनुसार उनीहरुको एकमुष्ट मुनाफा ६५ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको देखिएको छ, जुन अघिल्लो वर्षको भन्दा २५ प्रतिशत बढी हो ।
बैंकहरुले आर्जन गर्ने मुनाफामा स्प्रेड रेट (कर्जा तथा निक्षेपको ब्याजदरबीचको अन्तर) को ठूलो हात हुन्छ । स्प्रेड रेट कम भयो भने बैंकहरुको मुनाफा घट्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म (स्प्रेड रेट) ५ बाट घटाएर ४.५ मा झार्न निर्देशन दिएको थियो । यसका बाबजुद पनि मुनाफामा उल्लेख्य बढोत्तरी कसरी सम्भव भयो त ?
औसतमा बढ्यो स्प्रेड रेट
धेरै बैंकहरुले राष्ट्र बैंकले दिएको सीमाभित्र आफूलाई राखे पनि केही बैंकहरु अझै सीमा बाहिर छन् । जसले गर्दा बैंकहरुको औसत स्प्रेड रेट घटेको होइन अघिल्लो वर्षभन्दा बढेको देखिएको छ ।
मुुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष ०७४/७५ मा औसत स्प्रेड रेट ४.१७ थियो । गत आर्थिक वर्ष ०७५/७६ मा आएर स्प्रेड रेट ४.३९ प्रतिशतमा पुगेको छ ।
आव ०७४/७५ को प्रथम त्रैयमासमा औसत स्प्रेड रेट जम्मा ४ प्रतिशत मात्रै थियो । त्यसपछि क्रमशः बढ्दै गएको देखिन्छ । पहिलो त्रैयमासमा ४ प्रतिशत रहेको स्प्रेड दोस्रो त्रैयमास अर्थात ६ महिनापछि बढेर ४.०५ पुग्यो । यस्तै, तेस्रो त्रैयमास अर्थात् ९ महिनामा ४.१३ र चौथो त्रैयमासमा ४.५० प्रतिशतमा उक्लियो । यसरी एक वर्षको औसत स्प्रेड रेट ४.१७ देखियो ।