काठमाडौं : पछिल्लो समय पुँजी बजार सुधारका लागि नियामक निकायले उल्लेख्य काम गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले पछिल्लो समय पुँजी बजारमा कायापलट नै हुने गरी परिवर्तन आएको उनले दाबी गरेका छन् ।
पुँजी बजारमा विद्यमान बोरे प्रणालीको अन्त्य भएको छ । उनले भने, ‘पुँजी बजारमा सुधारको कायापलट परिवर्तन भएको छ । हितग्राही (डिम्याट) खाता र आस्वा प्रणालीको सुरु भएसँगै बोरे प्रणालीको अन्त्य भएको छ ।’ कारोबारका लागि योग्य ९०% भन्दा बढी सेयर डिम्याट भइसकेको समेत अध्यक्ष कार्कीले जानकारी दिए ।
समितिको बैठकमा बोल्दै उनले धितोपत्र बजार सुधारमा चौतर्फी काम भएको दाबी गरेका हुन् । ‘बजार सुधारका लागि एकतर्फी होइन चौतर्फी काम भएको छ । प्राथमिक बजार, दोस्रो बजार र नियामक निकाय भित्रै पनि सुधार गरेका छौं ।’ बजार सुधारकै क्रममा बैंकलाई ब्रोकर लाइसेन्स दिने कामले गति लिएको समेत अध्यक्ष कार्कीले बताए ।







