डेबिट–क्रेडिट कार्डको व्यापकता : एक वर्षमै थपिए १० लाख प्रयोगकर्ता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
डेबिट–क्रेडिट कार्डको व्यापकता : एक वर्षमै थपिए १० लाख प्रयोगकर्ता

२९ साउन, काठमाडौं । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति सरकारले लिइरहँदा बैंकिङ क्षेत्रबाट यसलाई बलियो साथ मिलेको छ । पछिल्लो एक वर्षमा मात्रै डेबिट–केडिट कार्ड प्रयोगकर्ताहरु १० लाखको संख्यामा थपिएका छन् ।

अहिलेको व्यवस्था अनुसार १० लाखभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । सरकारले साना दरका पैसाको प्रयोग पनि घटाउँदै लैजाने नीति लिएको छ । अर्कोतर्फ, नेपाल राष्ट्र बैंकले कार्डमार्फत भुक्तानी दिँदा मूल्य अभिवृद्धिर कर (भ्याट) को १० प्रतिशत नगद फिर्ता (क्यास ब्याक) दिने प्रावधानले पनि प्रयोगकर्तालाई लोभ्याएको हो ।

पछिल्लो तथ्यांकअनुसार ‘क’ वर्गका बाणिज्य बैंकका ६० लाख ६९ हजार २ सय ७७, ‘ख’ वर्गका विकास बैंकका १ लाख ८२ हजार ६ सय २४ र ‘ग’ वर्गका फाइनान्स कम्पनीका २९ हजार ५ सय २६ जना डेबिट कार्ड प्रयोगकर्ता पुगेका छन् । यसरी कूल डेबिट कार्ड प्रयोगकर्ताको संख्या ६२ लाख ८१ हजार ४ सय २७ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या ५१ लाख ८ हजार थियो । आ.व ०७४/७५ को तुलनामा ०७५/७६ मा १० लाखभन्दा बढीले डेबिट कार्ड लिएका छन् ।

क्रेडिट कार्डको आकर्षण पनि बढ्दो छ । आर्थिक वर्षको अन्त्यसम्ममा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख १२ हजार ७ सय ५६ रहेको नेपाल राष्ट्र बेंकले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या ९७ हजार मात्रै थियो । आव ०७३/७४ मा जम्मा ६४ हजार मात्रै क्रेडिट कार्ड प्रयोगकर्ता थिए । पछिल्लो एक वर्षमा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १५ हजारले बढेको हो ।

अझै बढ्ने

अहिले बैंक तथा वित्तीय संस्थामा खोलिएका खाताको संख्या सिंगो देशको जनसंख्याकै हाराहारीमा छ । राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार करिब २ करोड ८० लाख बैंक खाता खुलेका छन् । एकै व्यक्तिले धेरै बैंकमा खाता खोल्ने भएकाले बैंक खाताको संख्या अत्यधिक देखिएको हो । करिब ५० प्रतिशत नागरिक बैंकिङ पहुँचमा पुगेका छन् ।

यसरी हेर्दा बैंकिङ प्रणालीमा आएकामध्ये करिब ४५ प्रतिशतले मात्रै डेबिड वा क्रेडिट कार्ड लिएको देखिन्छ । त्यसैले पछिल्ला सरकारी नीतिका कारण कार्ड लिनेहरुको संख्या अझै बढ्न सक्छ । राष्ट्र बैंकले पनि अब प्रविधिको प्रयोग बढ्दै जाने दाबी गर्दै चालु आर्थिक वर्षमा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बढ्ने आँकलन गरेको छ ।

के हो डेबिट र क्रेडिट कार्ड ?

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने व्यक्तिगत बचतकर्तालाई बैंकले डेबिट कार्ड उपलब्ध गराउँछ । डेबिड कार्डलाई चलनचल्तीमा एटीएम भन्ने गरिन्छ । यस कार्डको माध्यमबाट बैंकको एटीएम मेसिनबाट नगद झिक्न वा वस्तु, सेवा खरिद गर्दा भुक्तानी गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । आफ्नो खातामा भएको रकम मात्रै यो कार्डको माध्यमबाट प्रयोग गर्न सकिन्छ ।

सुन्दा उस्तै लाग्ने भए पनि क्रेडिट कार्ड र डेबिट कार्डमा फरक छ । डेबिट कार्डमा आफूले पैसा राखेपछि मात्र झिक्न सकिन्छ तर, क्रेडिट कार्डमा आफ्नो बचत रकम हुनैपर्छ भन्ने छैन । बैंकले विश्वास गरेर निश्चित रकम झिक्ने सुविधा दिएको हुन्छ । यो एक प्रकारको ओभरड्राफ्ट सुविधाजस्तै हो । यसरी सुविधा लिनका लागि क्रेडिट कार्डको प्रयोग गरिन्छ ।

क्रेडिट कार्डमार्फत उपभोक्ताले निश्चित समयसम्म विना ब्याज रकम चलाउन सक्छन् । निश्चित अवधि नाघेपछिको अवस्थामा भने बैंकको तोकेको ब्याज तथा अन्य शुल्क तिर्नु पर्ने हुन्छ ।

‘डिजिटल पेमेन्टको विकल्प छैन’

बैंकिङ क्षेत्रका जानकारहरु कार्ड प्रयोगलाई अझै व्यापक बनाउनुपर्ने बताउँछन् । तर नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने हो भने कार्ड मात्रै नभएर डिजिटल पेमेन्टलाई प्राथमिकता दिनु पर्ने उनीहरुको धारणा छ ।

अब कारोबारका लागि डिजिटल पेमेन्टको विकल्प नरहेको प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामाले बताइन् । सरकारले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने योजना ल्याए पनि अहिले पूर्ण कार्यान्वयन भइनसकेको उनले उल्लेख गरिन् ।

‘सरकारले ल्याएको योजना एकदमै राम्रो हो, यसले कार्डको प्रयोगमा आकर्षण बढाउँछ भन्ने मलाई पनि लाग्छ,’ अनलाइनखबरसँगको कुराकानीमा लामाले भनिन्, ‘केही बैंकले क्यास ब्याक अफर ल्याए पनि पूर्णरुपमा यो लागू हुन सकेको छैन ।’

उनले नगदरहित कारोबारलाई अब प्रोत्साहन गर्नैपर्ने बताइन् । आर्थिक पारदर्शिता र सुरक्षाका लागि पनि क्यास कारोबारलाई निरुत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘नगदरहित कारोबारलाई प्रोत्साहन गर्नैपर्छ, तर यसको अर्थ कार्डलाई मात्रै होइन, डिजिटल पेमेन्टमा ध्यान दिनु पर्छ’ उनले भनिन् ।

कार्डका फाइदा

१. डेबिट कार्ड प्रयोग गरी आफ्नो खातामा भएको रकम एटिएमबाट सहजै निकाल्न सकिन्छ, यसका लागि बैंकमा लाइन बस्नु पर्दैन ।

२. विभिन्न सामान खरिदमा यो कार्डमार्फत भुक्तानी गर्न सकिन्छ । अर्थात् तपाईसँग खातामा रकम छ तर खल्तीमा छैन भने यो कार्डले काम गर्छ ।

३. यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्नेलगायतका समस्याबाट मुक्त गराउँछ ।

४. तपाईंले आफ्नो पर्स वा खल्तीमा पैसाको मूठो बोकेर हिँड्नु पर्दैन । यसबाट पैसा बाटोमा चोरिने, लुटिने वा हराउने खतरा समाप्त हुन्छ ।

५. डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत विदेशका वेबसाइटहरूमा विभिन्न किसिमका भुक्तानी गर्न सकिन्छ ।

६.क्रेडिट कार्डबाट थप सुविधा लिन सकिन्छ, जस्तै खातावालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ ।

७. पकेटमा र बैंक खाता दुवैमा रकम नभएको बेला क्रेडिट कार्डमार्फत सामान खरिद गर्न सकिन्छ, निश्चित अवधिमा बैंकलाई त्यो रकम फिर्ता गर्न सकिन्छ ।

८. यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो ।

९. क्रेडिट कार्डबाट एटीएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ ।

त्यसो त कार्ड प्रयोग गर्नुका केही जोखिमहरु पनि छन् । ती के–के हुन् त ?

१. यदि कार्ड हरायो वा चोरी भयो भने दुरुपयोग हुने खतरा हुन्छ । यद्यपि, यस्तो अवस्थामा तुरुन्तै नम्बर ब्लक गर्न सकिन्छ ।

२. यो कार्डको उपयोग अनलाइनमा पनि हुने भएकाले यसमा अनलाइन ठगीको खतरा पनि हुन्छ । त्यसैले अत्यधिक सावधानी अपनाउनुपर्छ ।

३. डेबिट कार्डको प्रयोग गर्दा तपाईंले थोरै शुल्क पनि तिर्नुपर्ने हुन सक्छ ।

४. यसबाट एकपटक वा एक दिनमा निश्चित रकम मात्रै निकाल्न सकिन्छ ।

५. कहिलेकाहीँ कार्डमार्फत पैसा निकाल्दा झण्झट पनि व्यहोर्नुपर्छ । जस्तो कि प्राविधिक गडबडीले कहिलेकाहीँ पैसा ननिस्कने तर खाताबाट काटिने अवस्था आउँछ । यस्तोमा तपाईंले बैंकमा उजुरी गर्नुपर्छ ।

 
Read More
  • MBL - below news
  • EBL Ad news