काठमाडौँ — करिब एक महिनादेखिको पुँजीगत लाभकरसम्बन्धी विवादमा नयाँ व्यवस्था गर्नु नपर्ने भन्दै नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) ले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।
बजारको अध्ययन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसको प्रतिवेदनलगायतको आधारमा पुँजीगत लाभकरको विषयमा नयाँ व्यवस्था गर्नु नपर्ने आशयको पत्र धितोपत्र बोर्डबाट प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । यसको अर्थ अब लगानीकर्ताले आफूले सेयर बिक्री गर्दा खरिद मूल्य पेस गर्न सक्नुपर्छ । त्यो मूल्य पेस हुन नसके प्रतिसेयर अंकित मूल्य एक सयका दरले भारित औसत लाभकर गणना गर्नुपर्ने हुन्छ ।
‘पुँजीगत लाभकर गणना सम्बन्धमा विद्यमान व्यवस्था नै ठिक भएको र तत्कालका लागि नयाँ व्यवस्था गर्नु नपर्ने आशयको पत्र प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘भारित लाभकर गणना प्रक्रियामा लगानीकर्तालाई सहज गरिदिन, प्रमाणीकरणका लागि ब्रोकर कार्यालयसम्म पुग्न नपर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको पनि उल्लेख छ ।’
यो आर्थिक वर्षदेखि पुँजीगत लाभकरको विवाद देखिएको हो । विवाद चर्किंदै गएपछि समस्या समाधानका लागि पटकपटक छलफल भइसकेको छ । यति गर्दा पनि विवाद नटुंगिएपछि पुँजीगत लाभकर गणनामा के समस्या देखिएको सरोकारवालासँग छलफल गरी तीन दिनभित्र समस्या समाधान गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।







