काठमाडौं । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । प्रतिकित्ता १ सय रुपैयाँमा किनेका लागनीकर्ताहरुले तीन महिनमै करिब तेब्बर नै नाफा कमाएपछि बिक्री गर्नेको चाप बढेको हो । दुवै कम्पनीका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा शेयर मूल्य घटेको ब्रोकरहरु बताउँछन् ।
गत मंगलबारदेखि दुवै कम्पनीको शेयर कारोबार हुन थालेको थियो । रसुवागढीको प्रतिकित्ता २ सय ८७ रुपैयाँमा खुलेको २ सय ९४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर गत साताको अन्तिम कारोबारका दिन बिहीबार २ सय १४ रुपैयाँमा कारोबार हुन पुगेको छ । २ सय ९४ रुपैयाँमा खरिद गर्नेले प्रतिकित्ता ८० रुपैयाँ गुमाइसकेका छन् ।
त्यसैगरी सन्जेनको पहिलो दिन प्रतिकित्ता २ सय ९२ रुपैयाँमा कारोबार भएको थियो । त्यस कम्पनीको पनि शेयर मूल्य घटेर २ सय १२ रुपैयाँमा आइपुगेको छ । यस कम्पनीको शेयर २ सय ९२ मा खरिद गर्नेले प्रतिकित्ता ८६ रुपैयाँ गुमाइसकेका छन् । दुवै कम्पनीका लगानीकर्ताले पहिलो दिन अर्थात गत मंगलबार नै शेयर बिक्री गर्न सकेको भए राम्रै मुनाफा पाउँथे । जति ढिलो बिक्री, त्यति धेरै नाफामा कम हुँदै आएको छ ।







