काठमाडौं । पछिल्लो समयमा नेपालको पुँजी बजारमा उच्च शेयर मूल्य रहेका लघुवित्त कम्पनीले लगानीकर्ताले ब्लुचिप्सका रुपमा लिँदै आएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी हाल वित्तीय कारोबार गदै आएका त्यस्ता ‘घ’ वर्गको वित्तीय संस्थाहरुको संख्या ९१ वटा रहेको छ । जसमध्ये ४७ वटा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।
आधाभन्दा बढी कम्पनीले वित्तीय विवरण प्रकाशित गरेको आधारमा ती कम्पनीहरूको वित्तीय अवस्था कस्तो रहेको छ भन्ने यहाँ केलाउन खोजिएको छ ।
चुक्ता पुँजी तथा खुद मुनाफा
यस ४७ वटा लघुवित्त कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी निर्धन उत्थान बैंकको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम चुक्ता पूँजी उपकार लघुवित्त कम्पनी रहेको छ । जसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।
यस त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा निर्धन उत्थान बैंकको रहेको छ । जसले यस खुद मुनाफा ७३ करोड ९५ रुपैयाँ कमाएको छ । जबकी गत वर्षको तुलनाभन्दा ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहीअवधिमा नाफा ५५ करोड ९२ लाख रुपैयाँ कमाएको थियो । सबैभन्दा कम नाफा कमाउनेमा सपोर्ट माइक्रोफाइनान्सले ५४ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढाउनेमा आशा लघुवित्त कम्पनी रहेको छ । जसले यस अवधिमा १ करोड ४५ लाख रुपैयाँ कमाएको छ । गत गत वर्षको सोहीअवधिमा नाफा जम्मा ४ हजार रुपैयाँ कमाएको थियो । यस कम्पनीले ३६ सय गुणाले वृद्धि गरेको छ ।
त्यस्तै अत्याधिक नाफा बढाउनेमा साधना लघुवित्त वित्तीय संस्था रहेको छ । जसको नाफा ३९३ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ करोड ६१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नाफा ४१ हजार रुपैयाँ मात्र कमाएको थियो । त्यस्तै स्पर्श लघुवित्तले पनि १५४ गुणाले वृद्धि गरी १ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा १ लाख रुपैयाँ कमाएको थियो ।







