काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भए सँगै बैंक तथा वित्तीय संस्थाले नयाँ आधार दर (बेस रेट) सार्वजनिक गरेका छन् । यसै दरलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका कर्जा प्रवाह गर्छन् । आधार दरमा बैंकको आवश्यकता र क्षमता अनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्छन् । यहाँ, हामीले बैंकहरुले असार मसान्तसम्म सार्वजनिक गरेका आधार दरकै आधारमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको बारेमा जानकारी दिएका छौं ।
सबै भन्दा कम आधार दर स्टान्डर्ड चार्टर्डको हुँदा धेरै सन्चुरीको
बैंकहरुले सार्वजनिक गरेका पछिल्लो आधार दर मध्ये सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधार दर ७.६३% रहेको छ । यद्दपि, यसले कति प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ भन्ने खुलाएको छैन । चार्टर्डले सेयर कर्जा खासै दिने गरेको छैन ।
यता, सरकारी स्वामित्वको नेपाल बैंकको आधार दर भने ७.९८% छ । बैंकले यसमा ४.०५% देखि ५.०२% सम्म प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, कृषि विकास बैंकले पनि आधार दरमा कति प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्ने भनेर खुलाएको छैन । कृषिले पनि सेयर कर्जा खासै उपलब्ध गराउँदैन् ।







