काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर श्रेष्ठले सुदूरपश्चिम प्रदेशको ऊर्जा सम्भावना उच्च भए पनि प्रसारण पूर्वाधार अभाव मुख्य चुनौतीका रूपमा रहेको बताएका छन् । सुदूरपश्चिममा करीब १० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको र हाल १६९ मेगावाट मात्रै जडित क्षमता रहेको जानकारी उनले दिए ।
श्रेष्ठले पश्चिम सेती कोरिडोरमार्फत करीब २ हजार ५०० मेगावाट विद्युत् प्रसारण गर्ने लक्ष्य राखिएको बताए । यसका लागि बझाङ, डोटी, डडेलधुरा र कैलाली हुँदै १४५ किलोमीटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ, जुन दोधारा–चाँदनी सबस्टेसनमा जोडिनेछ । उक्त केन्द्रलाई भविष्यमा प्रमुख ऊर्जा हबका रूपमा विकास गरी भारतको बरेलीसम्म विद्युत् निर्यात गर्ने योजना रहेको उनले उल्लेख गरे ।








