काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाबारे जानकारी दिँदै पछिल्ला दिनमा आफ्नो सेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।
उनले लेखेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेका बेला सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ।”
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदमा बसिरहँदा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले उल्लेख गरेका छन्।
विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना बढेपछि उनले नैतिक जिम्मेवारी वहन गर्दै पद त्यागेको बताइएको छ।
गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सञ्चारकर्मी, आम नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आग्रह गरेका छन्। साथै, केही सञ्चारकर्मीको स्वार्थका विषय पनि समयक्रममा बाहिर आउने संकेत गरेका छन्।








