काठमाडौं : Mahalaxmi Bikas Bank ले UnionPay International सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर (QR) भुक्तानी सेवा सुरु गरेको छ।
बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोड स्क्यान गरी भुक्तानी स्वीकार गर्ने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। यो सेवा फोनपे प्लेटफर्ममार्फत लागू गरिएको हो।
यस सुविधासँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन्। विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकका लागि यो सेवा उपयोगी हुने विश्वास बैंकले लिएको छ। यसले यात्राका क्रममा नगद बोक्नुपर्ने आवश्यकता पनि घटाउने अपेक्षा गरिएको छ।
सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका ठूला भुक्तानी सेवा प्रदायकमध्ये एक हो। कम्पनीका अनुसार हालसम्म ९.६ अर्बभन्दा बढी कार्ड जारी भइसकेका छन् र १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ।
बैंकका अनुसार यो सेवाले नेपालमा विद्यमान क्यूआर भुक्तानी पूर्वाधारलाई थप प्रभावकारी बनाउनेछ। डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउनेतर्फ बैंक प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’का रूपमा मनाउने योजनाअन्तर्गत ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत नयाँ योजना सार्वजनिक गरेको छ। जसअनुसार वैशाख महिनाको पहिलो साताभित्र कम्तीमा एक सफल डिजिटल कारोबार गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्नेछन्।
“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै बैंकले देशभर १०३ शाखामार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।








