नेपाल सेयर बजार लगानीकर्ता संघले सर्किट ब्रेकको नयाँ व्यवस्था सेटिङ भएको आरोप लगाएको छ । संघले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेटिङ र अनुचित प्रभावमा परी गैरकानूनी गतिविधि गरेको भन्दै संघीय संसद, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएको हो ।
संघले पूँजी बजारका ५६ लाख ५५ हजारभन्दा बढी लगानीकर्ताको हित संरक्षण गर्नुको सट्टा सीमित स्वार्थ समूहलाई पोस्ने गरी काम गरेको आरोप लगाइएको हो । संघले उजुरीको पहिलो बुँदामा धितोपत्र बोर्डको प्रस्तावनामै लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख भए तापनि व्यवहारमा लगानीकर्ताले त्यसको अनुभूति गर्न नसकेको उल्लेख छ ।








