काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट आम नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुने बताएका छन्।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा उनले उद्यमशीलता प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत विद्यमान आर्थिक चुनौती समाधान गरिने उल्लेख गरे।
उनका अनुसार पुँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रण सरकारका प्राथमिकता रहनेछन्। यी लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे।
छलफलमा इमानका प्रतिनिधिहरूले सञ्चारमाध्यमको समग्र विकासका लागि सन्तुलित र समावेशी नीति आवश्यक रहेको धारणा राखेका थिए।








