काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारका सम्बन्धमा फैलाइएको अफवाहमा नलाग्न आग्रह गरेका छन् । सोमवार स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आग्रह गरेका छन् । उनले पूँजीबजारका लागि सबैभन्दा उदार नीति राख्ने र घोषणापत्रमै स्पष्ट धारणा प्रस्तुत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार रहेकाले हल्ला र अफवाहको पछि कोही पनि नलाग्न आग्रह गरे ।
नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु पर्ने भएकोले सरकारले त्यसका लागि सुशासनका काम गरिरहेको उनले बताए । नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनको लागि नै अहिले सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको र केहीलाई पक्राउ गरिएको अर्थमन्त्री वाग्लेले स्पष्ट पारे । उनले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको र अपराध गरेकालाई उन्मुक्ति नहुने समेत उल्लेख गरे ।








