विराटनगर । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ ।
चालू आर्थिक वर्षको साउन मसान्तदेखि चैत्र मध्यसम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्तसम्मको बक्यौता रकम भने पूर्ण रूपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नवीन किशोर शर्माले जानकारी दिए ।







