काठमाडौं — Nepal Bank Limited ले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
बैंकले चैत ०२ गतेदेखि चैत ०८ गतेसम्म “Smart Money Talks” भन्ने नाराका साथ सातै प्रदेशका आफ्ना शाखामार्फत कार्यक्रम सञ्चालन गरेको जनाएको छ। उक्त अभियानको मुख्य उद्देश्य विशेषगरी युवापुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै आर्थिक सशक्तीकरणको सन्देश फैलाउनु रहेको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन तथा वित्तीय योजना सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो। विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कक्षाहरू सञ्चालन गरिनुका साथै बैंकिङ सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रम र डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक तालिम पनि प्रदान गरिएको थियो।
यसका अतिरिक्त बचत खाता खोल्ने विशेष अभियान, महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता विकास कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता, हस्ताक्षर अभियान तथा प्यानल छलफल जस्ता विभिन्न क्रियाकलापहरू पनि आयोजना गरिएको बैंकले जनाएको छ।
नेपाल बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आम नागरिकमा वित्तीय चेतना अभिवृद्धि गर्न प्रतिबद्ध रहेको जनाएको छ।







