टक्सार पावर कम्पनीले आफ्नो वित्तीय तथा व्यवस्थापकीय सुधारको योजनासहित ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला आयोजनालाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने अन्तिम तयारी थालेको छ । २०७८ वैशाखदेखि व्यावसायिक उत्पादन शुरू गरेको यस कम्पनीले शुरुआती चरणमा देखिएका प्राविधिक तथा सञ्चालनगत अवरोधहरू पार गर्दै स्थिरताको बाटो समातेको छ । यद्यपि, उत्पादन क्षमता र सञ्चालन दक्षतामा सुधार आए पनि उच्च ऋणको भारले कम्पनीको नाफा र शेयरधनीको प्रतिफलमा चुनौती खडा गरेको देखिन्छ ।
आयोजनाको परिचय
भोजपुर जिल्लामा रहेको यस आयोजनाको सम्झौताबमोजिम प्लान्ट लोड फ्याक्टर ६६ दशमलव ५९ प्रतिशत रहेको छ । आयोजनाको भौगोलिक अवस्थितिका कारण सुक्खायाममा १८ प्रतिशत र वर्षायाममा ८२ प्रतिशत विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ । कुल लागत १ अर्ब ८८ करोड रुपैयाँ रहेको आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५२ लाख रुपैयाँ पर्न आउँछ । यो लागत जलविद्युत् क्षेत्रको औसत लागतको तुलनामा केही बढी देखिए तापनि आयोजना समयमै सम्पन्न हुनु कम्पनीका लागि ठूलो उपलब्धि बनेको छ । समयमै निर्माण सम्पन्न भएका कारण कम्पनीले नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त हुने लगातार पाँचओटै महशुल वृद्धि सुनिश्चित गर्न सफल भएको छ । यसले दीर्घकालीन आम्दानीको आधार बलियो बनाएको छ । आफ्नो मुख्य आयोजनाका अतिरिक्त टक्सारले लगानी विविधीकरणको नीति पनि लिएको छ । कम्पनीले युनाइटेड मेवा हाइड्रो, नेपाल पावर एक्सचेन्ज र ठूलो खोला हाइड्रो जस्ता ऊर्जासम्बद्ध संस्थाहरूमा २० करोड ५३ लाख रुपैयाँ बराबरको रणनीतिक लगानी गरेको छ ।








