काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकका लागि मोतिबिन्दुको पहिचान र निःशुल्क शल्यक्रिया गर्ने उद्देश्यले समझदारी भएको छ।
मंगलबार बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा लक्षित वर्गका नागरिकको मोतिबिन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेछ। साथै, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ।
कार्यक्रममा अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक अंश समाजमा पुनः लगानी गर्ने परम्परा कायम राख्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रम देशभर विस्तार गरिएको बताए। उनले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा ७७ जिल्लामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
तिलगंगा आँखा प्रतिष्ठानका प्रा. डा. रुइटले बैंकसँगको सहकार्यलाई दीर्घकालीन र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा जोड दिने बताए।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले प्रतिष्ठित संस्थासँगको सहकार्यले सामाजिक उत्तरदायित्व कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्तो सहकार्य विस्तार गरिने बताए।







