काठमाडौं। नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ।
मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातै प्रदेशका ११ हजार ८७ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ। विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित आयोजना गरिएको हो।
अभियानअन्तर्गत बैंकले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ तथा वित्तीय ठगीसम्बन्धी विषयमा विद्यार्थी र युवाहरूलाई अभिमुखीकरण गरेको जनाएको छ। कार्यक्रम बैंकका विभिन्न शाखामार्फत सञ्चालन गरिएको थियो।
प्रदेशगत विवरणअनुसार कोशीमा २,०६४, मधेशमा १,३८१, बागमतीमा २,६०८, गण्डकीमा १,२७८, लुम्बिनीमा १,३३८, कर्णालीमा १,५०४ र सुदूरपश्चिममा ९१४ विद्यार्थी सहभागी भएका थिए।
बैंकले वित्तीय साक्षरता अभियानलाई थप विस्तार गर्ने लक्ष्यसहित सम्बन्धित सामग्री उत्पादन, प्रकाशन र प्रसारणसमेत गर्दै आएको जनाएको छ।
नबिल बैंक लिमिटेड देशको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।







