काठमाडौं - नेपाल राष्ट्र बैंक का गभर्नर विश्वनाथ पौडेल ले वित्तीय कारोबारमा कालोसूची सम्बन्धी प्रावधानको पुनरावलोकनका विषयमा अध्ययन भइरहेको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले चेक बाउन्स हुनेबित्तिकै व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्था लगायतका विषयलाई गम्भीरतापूर्वक समीक्षा भइरहेको जानकारी दिए। साथै कालोसूचीमा पर्नेहरूको सूची कसरी संक्षिप्त र व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।
उनका अनुसार अत्यधिक कडाइ वा दण्डात्मक उपायले मात्र व्यापार–व्यवसाय सञ्चालन हुन नसक्ने भएकाले व्यवसाय गर्न खोज्ने व्यक्तिलाई एकपटकको गल्तीका आधारमा अनावश्यक दुःख दिन नहुने धारणा राष्ट्र बैंकको रहेको छ।
अर्को प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि (आईटी) उद्योगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले अघि बढाइरहेको बताए। भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले आईटी क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
त्यस्तै, नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न सहज वातावरण बनाउने दिशामा पनि पहल भइरहेको उनले बताए।








