काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले पाँच वर्षे कार्यकाल पूरा गरेपछि पदबाट अवकाश लिएका छन्। डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आफ्नो कार्यकाल सकिएसँगै आइतबारदेखि औपचारिक रूपमा जिम्मेवारीबाट बिदा लिएका हुन्।
उनीहरूको अवकाशसँगै राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद खाली भएका छन्। अब ती पदमा कसलाई नियुक्त गरिने भन्ने विषय वित्तीय क्षेत्रका सरोकारवालाहरूले चासोपूर्वक हेरेका छन्। नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्ति राष्ट्र बैंकभित्रका विशिष्ट श्रेणीका अधिकारी, अर्थात् कार्यकारी निर्देशकहरूबाट गरिने व्यवस्था छ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्।
कानुनी व्यवस्थाअनुसार गभर्नरले तीमध्येबाट चार जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउनुपर्ने हुन्छ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस भएका चार जनामध्येबाट दुई जनालाई डेपुटी गभर्नरका रूपमा नियुक्त गर्ने प्रावधान रहेको छ।
नयाँ नियुक्ति प्रक्रिया कहिले सुरु हुन्छ र कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषय अहिले वित्तीय क्षेत्रको ध्यानाकर्षणको विषय बनेको छ। राष्ट्र बैंकमा डेपुटी गभर्नरको भूमिका मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण तथा वित्तीय प्रणालीको स्थायित्व कायम राख्न महत्त्वपूर्ण मानिन्छ। उनीहरूले संस्थाभित्रका विभिन्न विभागबीच समन्वय गर्ने, बैंक तथा वित्तीय संस्थाको निरीक्षणमा सहकार्य गर्ने तथा प्रशासनिक व्यवस्थापनमा गभर्नरलाई सहयोग गर्ने जिम्मेवारी पनि निर्वाह गर्छन्।
गभर्नर अनुपस्थित रहेको अवस्थामा संस्थाको दैनिक प्रशासनिक तथा नीतिगत कामकाज सम्हाल्ने जिम्मेवारीसमेत डेपुटी गभर्नरलाई रहने व्यवस्था छ। दुवै पद एकै पटक रिक्त भएपछि आगामी नियुक्तिले राष्ट्र बैंकको नेतृत्व संरचनामा नयाँ जिम्मेवारी कसले सम्हाल्ने भन्ने प्रश्नलाई अहिले विशेष ध्यानका साथ हेरिएको छ।








