काठमाडौं- नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । चन्द्रागिरीमा सम्पन्न बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ ।
सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।








