काठमाडौँ - कृषि विकास बैंकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्यलाई प्राथमिकता दिँदै शैक्षिक गुणस्तर सुधारका लागि उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगले व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त पठन–पाठनमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम मिति २०८२ माघ १४ गते बुधबार आयोजना गरिएको थियो। कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई उक्त बोर्ड हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, किर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
यस्तै, व्यवस्थापन केन्द्रीय विभागको तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा.डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक डा. सुनिता भण्डारी घिमिरेले गर्नुभएको थियो।








