काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरीदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको उक्त मुद्दामा मंगलवार सुनुवाइ गर्दै विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले तीनबुँदे आदेश दिएको हो ।
अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरीद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठन गरेको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनीयर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् । उक्त टोलीले उपकरणहरूको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।








