काठमाडौं - नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षता रहेको थियो।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधासम्बन्धी प्रस्ताव स्वीकृत गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ।
बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा संशोधन आएमा त्यसअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको बैंकले जनाएको छ।








