नबिल एसएसई ‘सेलिब्रेटिङ फेलोसिप २०८२’ सम्पन्न, १७ हजार रोजगारी सिर्जना गर्दै छैटौँ समूह स्वागत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल एसएसई ‘सेलिब्रेटिङ फेलोसिप २०८२’ सम्पन्न, १७ हजार रोजगारी सिर्जना गर्दै छैटौँ समूह स्वागत

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका पुराना सहभागीलाई बिदाइ गर्दै नयाँ सहभागीलाई स्वागत गरेको छ। बैंकले सोमबार आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई औपचारिक रूपमा स्वागत गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन हुँदै आएको यस फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र प्रदान गरे। सोही कार्यक्रममा छैटौँ समूहका २० जना सहभागीलाई स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिएको थियो।

कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवालाई नेपालमै उद्यममार्फत अवसर सिर्जना गर्न प्रेरित गरेको उल्लेख गरे। नबिल एसएसईका प्रशिक्षार्थीमार्फत हालसम्म करिब १७ हजार रोजगारी सिर्जना भइसकेको जानकारी दिँदै उनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रमुख अतिथि प्रा. डा. केसीले नबिल बैंकले सुरु गरेको यो पहल सामाजिक विकासका लागि उदाहरणीय रहेको उल्लेख गरे। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यले कार्यक्रमलाई थप सुदृढ बनाएको भन्दै आगामी दिनमा सहकार्य अझ विस्तार गरिने बताए।

नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले पाँच वर्षअघि सुरु गरिएको कार्यक्रम अहिले बैंक र विश्वविद्यालयको सीमाभन्दा बाहिर गई साझा अभियानका रूपमा स्थापित भएको बताए। “पाँच वर्षको यात्रामा करिब २०० उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ,” उनले भने।

त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसईसँगको सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भइसकेको जानकारी दिए। कक्षाकोठामुखी शिक्षाभन्दा व्यवहारिक र अनुभवमा आधारित सिकाइ कार्यक्रमको प्रमुख विशेषता रहेको उनले बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्वागत मन्तव्यका क्रममा सामाजिक उद्यमशीलतामार्फत समावेशी आर्थिक विकासमा बैंकको निरन्तर योगदान रहेको उल्लेख गरे।

नबिल बैंकले सन् २०२१ नोभेम्बर २६ देखि नबिल एसएसई कार्यक्रम सुरु गरेको हो। सामाजिक उद्यमशीलतामा नवप्रवर्तन, समावेशी उद्यम विकास, प्रशिक्षण, नेटवर्क र मेन्टरशिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको छ।

त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने यो छ महिनाको फेलोसिप कार्यक्रममा सहभागीले प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिन्छन् भने बाँकी समय आफ्नै उद्यममा कार्यरत रहन्छन्। हालसम्म फेलोसिप कार्यक्रमअन्तर्गत ९६ जना सामाजिक उद्यमी सहभागी भई ६२ उद्यम सञ्चालन गर्दै १४ हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरिसकेका छन्।

त्यसैगरी, नबिल बैंकले देशभरका १० शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स पनि सञ्चालन गर्दै आएको छ। सातै प्रदेशबाट १,०६९ जनाले यस कोर्सबाट लाभ लिई १३१ उद्यम सञ्चालन गर्दै २,५०० भन्दा बढी रोजगारी सिर्जना गरेका छन्।

नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा नबिल बैंकले सामाजिक उत्तरदायित्वमार्फत सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान पुर्‍याउँदै आएको छ। नबिल एसएसई कार्यक्रम बैंकको दीर्घकालीन विकास प्रतिबद्धताको प्रमुख आधारका रूपमा रहेको बैंकले जनाएको छ।

  • MBL - below news
  • EBL Ad news