नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाका लागि गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ ।
समितिले गत शुक्रवार नै मन्त्रालयमा प्रतिवेदन दर्ता गराएको भएतापनि आज सोमबार समितिका संयोजक प्रकाश जंग थापालगायतका पदाधिकारीहरूले अर्थमन्त्री रामेश्वर खनालसमक्ष उपस्थित भएर प्रतिवेदनबारे औपचारिक ब्रिफिङ गरेका हुन् ।
ब्रिफिङका क्रममा अर्थमन्त्रीले उक्त प्रतिवेदन आफूले विस्तृत रूपमा अध्ययन गरेपछि मात्र यसबारे थप जानकारी दिने र आवश्यक प्रक्रिया अघि बढाउने बताएको थापाले बताए। हालसम्म अर्थ मन्त्रालयले यो प्रतिवेदनलाई सार्वजनिक नगरे पनि प्रतिवेदनमा नेप्सेको पुनर्संरचनाका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी कार्यान्वयन गर्न सकिने स्पष्ट ४ वटा विकल्पहरू सुझाइएको छ ।
प्रतिवेदनमा नेप्सेको हालको १ अर्ब रुपैयाँ चुक्ता पुँजीलाई वृद्धि गरेर ३ अर्ब रुपैयाँ कायम गर्नुपर्ने मुख्य सुझाव दिइएको छ । यसका लागि सर्वसाधारणलाई सेयर (आईपीओ) बिक्री गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने र संस्थागत लगानीकर्ताहरूलाई थप पुँजी लगानी गर्न लगाउने जस्ता विकल्पहरू अघि सारिएका छन् ।








