विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (सोमबार) देखि सर्वसाधारणका लागि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै लगानीकर्ताहरूको निकै उत्साहजनक आकर्षण देखिएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साँझ ५ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार, निष्कासनको पहिलो दिनमै मागभन्दा १८ गुणा बढी आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर निष्कासन गरेको हो। तर, आज पहिलो दिनमै ७ लाख १९ हजार २०९ जना लगानीकर्ताहरूले ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्। यस आधारमा हेर्दा पहिलो दिनमै कुल निष्कासन गरिएको कित्ताको तुलनामा १८.१९ गुणा बढी शेयरको माग भएको देखिन्छ। लगानीकर्ताहरूले ८ अर्ब ४९ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन्।








