निजी आवासीय कर्जाको आकार पछिल्लो समय निरन्तर बढ्दो क्रममा देखिएको छ। ब्याजदर घट्दै जानु र नियामक निकायको सहज नीतिका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाउने वा किन्नेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो।
पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास शीर्षकमा दिएको कर्जा ५ खर्ब रुपैयाँ नजिक पुगेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यसमध्ये व्यक्तिगत आवास शीर्षकमा मात्रै चार खर्ब ४२ अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ अर्ब ९० करोड ३० लाख रुपैयाँले बढी हो।









