आईटी उद्यमीलाई गभर्नरको भरोसा, विदेशमा लगानी सहज बन्दै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आईटी उद्यमीलाई गभर्नरको भरोसा, विदेशमा लगानी सहज बन्दै

नेपाल राष्ट्र बैंकका गभर्नरले आईटी क्षेत्रलाई लक्षित गर्दै नीतिगत सुधारहरूले नेपाली कम्पनीको वैदेशिक विस्तार सहज बन्दै गएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले पछिल्ला वर्षहरूमा आईटी उद्योगले गरेको प्रगतिलाई उल्लेख गर्दै युवालाई विश्व बजारतर्फ उन्मुख हुन आह्वान गरेका हुन्।

उनका अनुसार कम्पनी दर्ता प्रक्रिया सरल बनाउने, वैदेशिक प्रत्यक्ष लगानी (FDI) सम्बन्धी सीमामा संशोधन गर्ने र कर संरचनालाई विश्वसनीय बनाउने जस्ता अर्थमन्त्रालयका सुधारको आंशिक परिणामस्वरूप आईटी क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा आईटी कम्पनी खुलेकोमा एक वर्षअघि मात्रै यो संख्या करिब ४०० पुगेको उनले उल्लेख गरेका छन्।

गभर्नरले राष्ट्र बैंकको तर्फबाट थप सुधार अघि बढाइएको पनि बताए। अब नेपाली निर्यातकर्ता कम्पनीलाई विदेशमा १० लाख अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिइएको छ। निर्यात नगरेका कम्पनीका लागि समेत २० हजार डलरसम्म वैदेशिक लगानीको बाटो खोलिएको छ। “नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौँ,” उनले विश्वास दिलाएका छन्।

वैदेशिक लगानीकर्ताको ‘पेपरवर्क’ बढी भएको गुनासोलाई सम्बोधन गर्दै नाफा बाहिर लैजान राष्ट्र बैंकको छुट्टै स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको पनि उनले बताए।

गभर्नरका अनुसार २०२१ सालमै वैदेशिक लगानीमा प्रतिबन्ध लगाइएको पृष्ठभूमिमा अहिलेका यी पहलहरू दूरगामी प्रभाव पार्ने खालका छन्। उनले युवालाई ढुक्क भएर नयाँ उत्पादन विकास गर्न, विश्व बजारलाई लक्ष्य बनाउन र नेपालमै बसेर प्रतिस्पर्धा जित्न आह्वान गरेका छन्।

“पखेटा फैलाउनुस्, मेहनत गर्नुस्, नेपालबाटै संसार जित्न सकिन्छ,” गभर्नरको सन्देश छ। साथै, बैंकिङ क्षेत्रले उद्यमीको विस्तार यात्रामा सधैं साथ दिने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad