काठमाडौँ, पुस १३ गते । विभिन्न समयमा आएको भीषण बाढी र जेनजी आन्दोलनले नेपालको बिमा क्षेत्रलाई प्राकृतिक र मानवनिर्मित जोखिमको दोहोरो दबाबमा राख्दै जोखिम वहनको क्षमता पनि बढाइरहेको देखिएको छ । एकातिर बाढीपहिरोले निर्जीवन बिमामा दाबीको चाप अस्वाभाविक रूपमा बढायो भने अर्कोतिर आन्दोलनपछिको तोडफोड, आगजनी र अवरोधले दङ्गा–आन्दोलनसम्बन्धी कभरेज, पोलिसी अपवाद र दाबी व्यवस्थापन प्रणालीको सक्षमताको परीक्षण भएको छ । यी घटनाक्रमले बिमा क्षेत्रको जोखिम वहन क्षमता, उपभोक्ता विश्वास र दीर्घकालीन स्थायित्वमाथि गहिरो बहस जन्माएको छ ।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले समग्रमा नेपालका लागि दुःखद र दुर्भाग्यपूर्ण घटनाका रूपमा बाढी र जेनजी आन्दोलन भएको भन्दै यही घटना समग्र बिमा व्यवसायका लागि टर्निङ प्वाइन्ट भएको बताउनुभयो । जेनजी आन्दोलनको क्षति बिमा दाबी रकमको तुलनामा भुक्तानी कम नभएको जिकिर उहाँको छ । कार्यकारी निर्देशक सुवेदीले ९० दिनमै पाँच अर्बमाथि भुक्तानी भएको बताउनुभयो । महाभूकम्पका बेला १६/१७ अर्बको दाबी तिर्न आठ/नौ वर्ष लागेको स्मरण गर्दै उहाँले अहिले भन्नुभयो, “अहिले दाबी भुक्तानी महाभूकम्पको भन्दा छिटोछरितो बनेको छ ।”









