बैंकिङ क्षेत्र सुधार प्रतिवेदन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्र सुधार कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीको नेतृत्वमा पूर्वबैंकर भुवन दाहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सम्मिलित समितिले बनाएको प्रतिवेदनले नेपालको बैंकिङ क्षेत्रमा विभिन्न सुधारका सुझाव प्रस्तुत गरेको छ । प्रतिवेदनले आर्थिक गतिविधिलाई पुनः सक्रिय गर्न र बैंकिङ क्षेत्रको समग्र सुधार गर्ने लक्ष्य लिएको छ ।
प्रतिवेदनले बैंकिङ नीति, आर्थिक गतिविधि, ग्रामीण क्षेत्रको कर्जा प्रवाह र पुँजी बजारको विकासमा केन्द्रीय बैंकको भूमिका जस्ता महत्वपूर्ण पक्षमा सुधारको आवश्यकता देखाएको छ ।
बैंकिङ नीति र नियमनमा सुधार
प्रतिवेदनको पहिलो एजेन्डाअन्तर्गत बंैकिङ नीति तथा नियमनमा सुधारको सन्देश दिइएको छ । प्रमुख सुझावहरूमा जोखिममा आधारित सुपरिवेक्षण, ग्राहकमैत्री बैंकिङ सेवाको विकास र स्वस्थ नियमनको व्यवस्था गर्ने कुरामा विशेष ध्यान दिइएको छ । विशेषगरी, वित्तीय संस्थाहरूको वर्गीकरण प्रणालीलाई थप प्रभावकारी बनाउने र स्वनियमनको अधिकार संस्थाहरूलाई दिने प्रस्ताव गरिएको छ ।









