काठमाडौँ । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ ।
आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूका लागि ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै सुनचाँदी कारोबारमा कडाइ गर्न थालेको हो ।
विभागले जारी गरेको नयाँ निर्देशन अनुसार अब सुनचाँदी पसलमा गएर विनापरिचय वा काल्पनिक नाममा गरगहना खरिद–बिक्री गर्न पाइने छैन । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी खरिद–बिक्री गर्ने ग्राहकको पूर्ण विवरण (केवाईसी) राख्नुपर्ने भएको छ ।









