काठमाडौं : विश्वका ५०० जना धनाढ्य व्यक्तिहरुले एकै दिन ११७ अर्ब डलर गुमाएका छन् । समग्रमा (कलेक्टिभ नेटवर्थ) उनीहरुले २.१% खुद सम्पत्ति गुमाएका हुन् । अमेरिकी सेयर बजारमा ह्रास आउँदा उनीहरुको सम्पति पनि तल झरेको हो । यो अमेरिकी सेयर बजारमा आएको यस वर्षकै सबैभन्दा ठूलो गिरावट हो । अमेरिकी सेयर बजार न्यू योर्क स्टक एक्सचेन्ज सोमबार २.६७% ले घटेको छ । अन्य स्टक मार्केटमा पनि गिरावट देखिएको छ ।
विश्व अर्बपति सूचीका २१ जना प्रत्येकले कम्तिमा पनि १ अर्ब डलर भन्दा बढीका दरले गुमाएका छन् । चीन र अमेरिकाबीच बढ्दो तनावले अमेरिकी सेयर बजारमा गिरावट आएको विश्लेषकहरुको भनाई छ । चिनियाँ सामानमा १०% अतिरिक्त कर लगाउने ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएका छन् । यसको प्रत्यक्ष प्रभाव अमेरिकी सेयर बजारमा देखिएको हो ।







