काठमाडौँ — गत २३ भदौको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा साढे ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यही १७ मंसिरसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको छ ।
त्यसमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।
यो रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । भुक्तानी रकम कुल दाबीको करिब १८.७० प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय दाबी परेका छन् । बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ ।








