काठमाडौँ — व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ।
विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।
‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ।’








