काठमाडौँ, मङ्सिर २१ गते । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ९० करोड ११ लाख २३ हजार रुपियाँ बराबरको १२ लाख छ हजार केजी अलैँची निर्यात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दा निर्यात दोब्बरले वृद्धि भएको अलैँची उत्पादक सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष निर्मल भट्टराईले यस पटक अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर समयमा किसानले बिक्री गर्दा निर्यातसमेत वृद्धि भएको बताउनुभयो । विगतका वर्षमा अलैँचीको मूल्य नबढ्दा किसानले लामो समय थन्क्याएर पछि बिक्री गर्ने गरेका थिए । यस पटक सिजनको सुरुमै अलैँचीको मूल्य पाउँदा निर्यात बढेको सङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।









