सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाएर समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता दिने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ मन्त्रालयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए।
वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पीडित बचतकर्ताको पाँच लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको छ।
१७ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।
कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।
‘कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ,’ भट्टले भने, ‘१ लाख बचत भएका बचतकर्तालाई पूरै दिने/नदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय पर्खेका छौं ।’









