काठमाडौँ - नबिल बैंक लिमिटेडले देशभरका २७ शाखामार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। यसअघि केन्द्रीय कार्यालयसहित सीमित शाखामा मात्र उपलब्ध सेवा अब काठमाडौँ उपत्यकाका १७ र उपत्यकाबाहिरका १० शाखामा विस्तार गरिएको बैंकले जनाएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईंका अनुसार, “अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब राजधानीका प्रमुख शाखासहित देशभरका २७ शाखाबाट उपलब्ध हुनेछ। यसले ग्राहकमैत्री डिजिटल बैंकिङ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले बताए।
बैंकले सेवा उपलब्ध हुने उपत्यकाभित्रका शाखा तीनधारा, पुतलीसडक, महाराजगञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटी रहेको जनाएको छ।
यस्तै, उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित शाखाबाट पनि सेवा लिन सकिनेछ।
नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले भिसा आवेदन शुल्क, विश्वविद्यालय तथा कलेजको आवेदन शुल्क, बीमा, ACCA भुक्तानी, शैक्षिक तथा व्यापारिक सम्मेलनसम्बन्धी शुल्क लगायतका भुक्तानी सहज रूपमा गर्न सक्नेछन्। यसका लागि छुट्टै अन्तर्राष्ट्रिय कार्ड आवश्यक नपर्ने बैंकले स्पष्ट पारेको छ।
चार दशकदेखि बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा नबिलले हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा तथा ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।









