बैंक तथा वित्तीय संस्थाहरुले गर्ने सुनचाँदी धितो कर्जामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिले तीन महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने यस्तो कर्जा ४२.३१ प्रतिशतले वृद्धि भएको हो ।
केन्द्रीय बैंकका अनुसार चालु आवको असोज मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखेर ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ कर्जा दिएका छन् । गत आवको सोही अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवको सुरुको तीन महिनाको अवधिको तुलनामा चालु आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो बापत २५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।









