चालु आर्थिक वर्षको पहिलो चौमासमा ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कातिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो । उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् ।
उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिव ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ ।
सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ, जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।








