कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ।
बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको हो। 'मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो,' आयोजनाका सिनियर डिभिजिन इन्जिनियर राजेशभक्त पोखरेलले भने।






