नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयन कार्य योजना बनाएको छ। आइतबार लगानीकर्ताले सुझाव तत्कालै कार्यान्वयन गर्नु पर्ने भन्दै बोर्ड घेराउ गरेपछि उक्त कार्य योजना सार्वजनिक गरेको हो।
धितोपत्र बोर्डको भागमा तत्काल गर्नु पर्ने ९ वटा काम परेका छन्। धितोपत्र बोर्डको भागमा परेको सबैभन्दा पहिलो काम धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने छ। त्यसको लागि एक अध्ययन समिति बनेको छ। यसले रिपोर्ट दिने बित्तिकै त्यसलाई कार्यान्वयनमा लैजाने कार्य योजनामा छ। कार्तिक मसान्तसम्म उक्त काम भइसक्ने समय सीमा तोकिएको छ।
दोस्रोमा सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्ने भन्ने छ। त्यसको पनि निर्देशिका बनेर आइसकेको छ। त्यसलाई स्वीकृत गरेपछि उक्त विषय पनि सकिने कार्य योजनामा उल्लेख छ। उक्त विषय पनि आउने कार्तिक मसान्तसम्म लागु भइसक्ने समय सीमा तोकिएको छ।

 
                                    





