काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ को निर्यात अनुदान आवेदन प्रक्रिया यस वर्ष अघि नबढाउने निर्णय गरेपछि निजी क्षेत्रका संघसंस्थाले असन्तुष्टि व्यक्त गरेका छन् ।
विभागले २०८१/८२ को निर्यात अनुदान आवेदन प्रक्रिया अघि नबढाउने सूचना जारी गरेपछि मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएका हुन् ।
विराटनगरबाट आर्थिक अभियानकर्मी वेदराज पौडेलले पठाएको समाचारअनुसार मोरङ उद्योग व्यापार संघले विभागलाई उक्त निर्णयमा पुनर्विचार गर्न, आवेदन म्याद थप गर्न र निर्यातकर्ताको हितमा बन्ड जारी गर्न माग गरेको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाट निर्यात हुने थप वस्तुमा निर्यात अनुदान दिनुपर्ने माग लामो समयदेखि उठ्दै आएको अवस्थामा विभागले जारी गरेको सूचना आश्चर्यजनक र निर्यात क्षेत्रको मनोबल कमजोर पार्ने खालको छ ।’







