नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय कार्डमार्फत गर्न सकिने सेवा र सुविधाबारे जानकारी सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार देशभरका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने प्रिपेड, डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अब अधिकांश वित्तीय कारोबार सजिलै गर्न सकिने व्यवस्था मिलाइएको छ।
नियमअनुसार, कार्ड प्रयोग गरेर खातामा रहेको मौज्दात रकमसम्बन्धी विवरण हेर्न सकिन्छ। त्यस्तै, एटीएम र क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा वा निकासी गर्न, वस्तु तथा सेवा खरिद गर्दा प्वाइन्ट अफ सेल (PoS) र प्वाइन्ट अफ ट्रान्ज्याक्सन (PoT) मेसिन प्रयोग गर्न सकिन्छ। साथै, इन्टरनेट तथा अन्य डिजिटल माध्यममार्फत कारोबार गर्ने सुविधा पनि उपलब्ध छ। यी सुविधाले नगद प्रयोगलाई घटाउँदै सहज, द्रुत र पारदर्शी वित्तीय कारोबारमा मद्दत गर्ने राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकले उपभोक्तालाई कार्ड प्रयोग गर्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ। विशेषगरी पिन नम्बर सुरक्षित राख्ने, अपरिचित वेबसाइट वा असुरक्षित इन्टरनेट प्रयोग नगर्ने, र कार्डसम्बन्धी सम्पूर्ण जानकारी आफ्नै बैंक वा वित्तीय संस्थाबाट मात्र लिने सन्देश दिइएको छ।
वित्तीय पहुँच विस्तार र नगदरहित अर्थतन्त्रतर्फ अघि बढ्ने रणनीतिअनुरूप विद्युतीय कार्ड प्रयोगलाई थप सहज बनाइँदै गएको राष्ट्र बैंकले जनाएको छ।