काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ४ मन्त्रीलाई शपथ गराएका छन्।
शपथ लिने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन्।
पोर्टफोलियोअनुसार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषिमन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
यसअघि मन्त्रीका लागि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम सिफारिस भए पनि अन्तिम समयमा आएर रोकिएको छ।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले नेतृत्व गरेको मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ। शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्कीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
मन्त्रालय विभाजन अनुसार प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने भएकी छन्। रामेश्वर खनालले अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएका छन् भने कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन्। ओमप्रकाश अर्याल गृह मन्त्रालयमा जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरूमध्ये अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पत्रकार जगदिश खरेललाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय तोकिएको छ।
शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।