शेयर बजारका लगानीकर्ता तथा संघ सगठनहरुले शेयर बजारमा आएको अस्वभाविक गिरावट प्रति नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानकर्षण गराएका छन । दोस्रो बजारमा सूचिकृत हुने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धेरै भएकाले राष्ट्र बैंकले लगानीकर्ताको मनोवल बढाउने कदम चाल्न आग्रह गरेका हुन ।
शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गभर्नरलाई भेटेर ध्यानकर्षण गराएका हुन ।
लगानीकर्ताले विभिन्न बुदाँमा गभर्नरको ध्यानकर्षण गराएका छन :
१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने सम्बन्धमाः
बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा सहभागी हुन र पूँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक छ । यसका लागि विद्यमान नीतिगत प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज रूपमा खरिद/बिक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्नुपर्छ । यसले बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र होइन, सम्पूर्ण पूँजी बजारलाई स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुनेछ ।

 
                                    





