नीतिले बजारसम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्नेलगायतका व्यवस्था गरेको छ ।
नेपाल धितोपत्र बोर्डले ‘डिजास्टर रिकोभरी’ संयन्त्र स्थापना गर्ने भएको छ । बोर्डले धितोपत्र बजारलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउनका लागि बोर्डको सूचना प्रविधि नीति, २०७६ साउनदेखि लागू गरेको थियो ।
बोर्डले सूचना प्रविधिको उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन सो नीति ल्याएको जनाएको छ । नीतिमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिमा सूचना प्रविधिको उपयोगलाई बढाउने उल्लेख छ । साथै नीतिले बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रूपमा प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनेसमेत व्यवस्था गरेको छ ।
सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय प्रयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल एवं विश्वसनीय बनाउने नीतिको उद्देश्य छ । बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गरिने बोर्डले जनाएको छ । बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्नेसमेत बोर्डले जनाएको छ । नीतिले बजारसम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्नेलगायतका व्यवस्था गरेको छ ।







